Ad Image

आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745071616.jpg

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ । भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ भने थप रकम सहप्रायोजकहरूबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।  

 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएकोे आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

 

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई ‘पेनाल्टी सुट’मा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो । गत वर्ष पनि जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, भगवती स्पोर्ट्स क्लबखोटाङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता थियो ।