प्रहरी जवानको परीक्षामा ७ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौंको मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दोलखा, जिरी नपा– ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा– ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा– ५ घर भई बानेश्वर बस्ने अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा– ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा– २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन् ।
यसैगरी लोक सेवा आयोग, पोखरा कार्यालयमा सञ्चालन भएको नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाबाट पनि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार (वैशाख ६) गते सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा परीक्षा दिने ज्ञानुता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाको पाख्रीबास नगरपालिका–५ की वर्ष १९ की ज्ञानुता विश्वकर्मालाई पक्राउ गरी शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीमाथि अरूको नाममा परीक्षा दिएको, परीक्षा प्रणालीमा अनधिकृत प्रवेश गरेको र शैक्षिक प्रक्रियाको दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।