सुनको मूल्य एकैदिन ६ हजार ९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावले मंगलबार नेपाली बजारमा सुनको मूल्य २ लाख नजिक पुगेको छ । सुनको मूल्य मंगलबार तोलामा ६ हजार ९ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तोलामा १ लाख ९१ हजार कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको व्यवसायीको भनाइ छ । मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएर प्रतिऔंस ३४०० डलर नाघेको थियो । मंगलबार पनि थप मूल्य बढेर ३४८० डलर पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको हो । मंगलबार नेपाली बजारमा मूल्य समायोजन हुँदा यसको प्रभाव परेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकलाई धम्क्याएका कारण सुनको मूल्यमा वृद्धि देखिएको हो ।