राप्रपाले बुझायो सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । नवीन समझदारीको माग गर्दै ज्ञापनपत्र बुझाउनु अघि धर्ना दिएको थियो भने जिल्ला सदरमुकामहरुमा प्रदर्शन समेत गरेको थियो। तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना सर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपाले आज ज्ञापन पत्र बुझाएको हो ।
‘कतै ठूला, कतै मझौला त कतै साना प्रदर्शनहरू भए होलान् तर प्रदर्शन भएका छन् । देशलाई अप्ठ्यारो परेको बेला यसलाई पॅुजीको रुपमा लिएर निरन्तर अघि बढ्नेछौँ। हामी उच्च मनोबलमा छौं,’ केन्द्रीय प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘सशक्त आन्दोलनको बलियो आधार तयार पारौँ, नवीन समझदारीका लागि बाध्य पारौँ भन्ने सन्देश दिइयो ।’