Ad Image

तलब नपाएपछि खाँडाचक्र नगरपालिकाको मूलगेटमा करारका कर्मचारीले लगाए ताला

User Image Mayorsap | ४ हप्ता अगाडि
Image of storage/news/1745401439.jpg

सुर्खेत । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । तालाबन्दीपछि नगरपालिकाको सबै काम ठप्प छ ।


१२६ करार कर्मचारीमध्ये १२१ जनाले तलब नपाएको गुनासो गरेका हुन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेले ५ जनालाई मात्र तलब दिइँदै आएको बताए । उनका अनुसार २१ महिनादेखि तलब दिइएको छैन ।


उनका अनुसार तलब नपाउने कर्मचारीहरूमा २१ जना वनका छन् । पाण्डेले भने, ‘पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले चासो दिएन । एकले अर्कोलाई दोष देखाउने मात्र भएपछि बाध्य भएर ताला लगाएका हौं ।’


खाँडाचक्रका उपमेयर गणेशबहादुर शाहीले कर्मचारीहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएको जिकिर गरे । उनले भने, 'समस्याको समाधानका लागि आन्तरिक छलफल भइरहेको छ ।’


कालीकोटका अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाले लामो समयदेखि गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको टिप्पणी गरे ।


‘सेवाग्राही दिनहुँ पालिकाको ढोका चहारिरहेका हुन्छन् । कर्मचारीले तलब नपाउने, सेवासुविधाबाट वञ्चित हुने अवस्था देख्दा दुःख लाग्छ, मल्लले भने ।