ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् ।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।
सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए ।
राज्यमन्त्री तामाङ र घिसिङ दुवै रामेछाप जिल्लाका हुन् ।
त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । जबकि, सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन । मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ ।