लहान नगरपालिकाको बलान नदी र झिझर खोलाको देभानमा बन्यो मलामी विश्राम घर


सिरहा । लहान नगरपालिका–१६ तरेगणास्थित बलान नदी र झिझर खोलाको देभानमा रू २५ लाख लागतमा मलामी विश्रामघर निर्माण गरिएको छ । संघीय सरकारको सशर्त अनुदानबाट बनेको उक्त विश्रामघरको आज लहान नगर प्रमुख महेशप्रसाद चौधरीले उद्घाटन गरे ।
उदघाटन समारोहमा मृत्युपश्चात दाहसंस्कारमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गरिएको नगरप्रमुख चौधरीले बताए । “विश्रामघर नहुँदा दाहसंस्कारमा मलामी गएको बेला मानिसलाई घामपानीमा समस्या हुन्थ्यो । वर्षातमा सुरक्षितसाथ बस्ने ठाउँ थिएन”, उनले भने, “अब त्यस किसिमको समस्याबाट छुटकारा मिल्ने छ ।”
नगरप्रमुख चौधरीले स्थानीयको मागअनुसार घर निर्माण गरिएको बताए । विशेषगरी बलान नदी वारी सिरहा र पारी सप्तरी पर्ने हुनाले दुवै जिल्लावासीलाई यस विश्रामघरले सहज हुने लहान–१६ का वडाअध्यक्ष गडुलबहादुर जर्घा मगरले जानकारी दिए । यसअघि बजेट अभावले बन्न नसकेको विश्रामघर यसपटक बन्न सकेकोमा स्थानीयले राहत महसुस गरेको उनले बताए । आयोजना सम्झौता भएको चार महिनामै निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।