रौतहटमा १४ वर्षीय बालकको ह*त्या


नेपाल । रौतहटमा १४ वर्षीय एक बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ। हत्या भएको पाँच दिनपछि बालकको शव एक खोलामा फेला परेको हो ।
रौतहट जिल्लाको मध्यभागमा पर्ने गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा हत्या गरी फालिएको अवस्थामा बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
वृन्दावन नगरपालिका–७ निवासी सुरुज राय यादवका १४ वर्षीय छोरा कृष्ण प्रसाद यादव गत पाँच दिनदेखि बेपत्ता थिए । उनको शव शुक्रबार बिहान ९ बजे पानीमा घोप्टो परेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
डिएसपी कार्कीका अनुसार, शवको प्रकृति हेर्दा कर्तव्यपूर्वक हत्या गरिएको अनुमान गरिएको छ । बालकको पेट र कन्चटमा गहिरो घाउ देखिएकाले धारिलो हतियार प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ ।
शवमा किरा लागेको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ ।
गत चैत ६ गते साँझ ४ बजे बालकले बिर्ता गाउँ जान्छुू भन्दै आफ्नै मोटरसाइकलमा घरबाट निस्केका थिए । त्यसपछि उनी तीन दिनसम्म घर नफर्केपछि पीडित परिवारले चैत ९ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गतको जेष्ठ नागरिक, महिला तथा बालबालिका सेवा केन्द्रमा निवेदन दिएका थिए ।
प्रहरीका अनुसार, घटनासम्बन्धी थप अनुसन्धान जारी छ भने बालकले लिएर गएका मोटरसाइकल अहिलेसम्म फेला परेको छैन ।