कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलः बोर्डकै कर्मचारी सोध्छन्–२ लाख छ ?


सिराहा। कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयका कर्मचारीहरुले आर्थिक चलखेल गरेको प्रमाण फेला परेको छ। लहानस्थित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिराहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा व्यापक आर्थिक चलखेल भएकोे तथ्य बाहिरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका कर्मचारीहरुले परीक्षा केन्द्र तोक्दा विद्यालयहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अतिरिक्त रकम लिएर भनेकै ठाउँमा केन्द्र तोकेको पाइएको छ । नाम नखुलाउने सर्तमा विद्यालय सञ्चालकहरुले बोर्डका कर्मचारीहरुलाई ‘घुस’ बुझाएको पुष्टि गरेका छन् ।
हामीले एक विद्यालयका सञ्चालकको रूपमा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवलाई फोन गर्यौं । हामीले बोल्नै परेन । उनले नै भने, ‘तपाईँ लालीगुराँस इङलिश बोर्डिङ स्कुलको सर होइन !’ हामीले ‘हो’ भन्यौं । उनले अगाडि बढेर बने, ‘परीक्षा केन्द्र ‘सूची’ हेर्नुस् !, केन्द्र त त्यहीँ परेको छ । तपाईँको केन्द्र शंकर पब्लिक एकेडेमीमै छ । कसले केन्द्र त्यहाँ नपरेको भन्यो ? भनेकै ठाउँमा पारिदिएको छु ।’

कर्मचारीको त्यो भनाईले पनि परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेल भएको पुष्टि गर्छ । लहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको केन्द्रको सूची हेर्दा पनि आर्थिक चलखेल स्पष्ट देखिन्छ । कतिपय विद्यालयलाई नजिकै केन्द्र तोकिएको छ भने केहीलाई १०–१२ किलोमिटर टाढा पर्ने ठाउँमा पठाइएको छ।
परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलको कुरा आएको स्वीकार गरे पनि लेनदेनको रकम त्यति ठूलो नभएको राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले दाबी गरेका छन् । यसपालिको कक्षा १२ को परीक्षाका लागि यस कार्यालय मातहतका सिराहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकिएका छन् । यी केन्द्रहरुमा जम्मा २७ हजार परीक्षार्थी सहभागी हुँदैछन्।
यसबारे केन्द्रीय कार्यालयसम्म समेत उजुरी पुगको छ । तर, हालसम्म पनि कुनै कार्बाही नभएकोले राज्यका जिम्मेवार निकायहरु नै भ्रष्टाचारको संरक्षक बनेको अभिभावकहरुको आरोप छ।
‘कक्षा १२ को परीक्षा केन्द्र हाम्रो विद्यालयमा पार्न निवेदन गर्दा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले परीक्षा केन्द्र पार्न दुई लाख रुपैयाँ लाग्ने बताए’, नाम उल्लेख नगर्ने शर्तमा एक समुदायिक विद्यालयका प्रधानाध्यापकले बताए । भेटवालले ती प्रध्यानाध्यापकलाई हाकाहाकी भनेको अडियोमा सुनिन्छ, ‘दुई लाख रुपैयाँ छ ?, बिना पैसाको केन्द्र हुँदैन् । तपाईँहरु विद्यार्थीहरुसँग पैसा उठाउने, अनि हामी त्यतिकै टुलुटुलु हेरेर बस्नु ?’
यसअघि सम्पन्न एसईई परीक्षामा समेत सिराहामा परीक्षा केन्द्र निर्धारणमा लाखौं रकम असुली भएको तथ्य सार्वजनिक भएको थियो । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार मौलाउनु र राज्यका निकायहरु मौन बस्नुले पनि सरकारले नै त्यस्ता भ्रष्टाचारी कर्मचारीहरुलाई संरक्षण गरिरहेको प्रष्ट हुन्छ । अन्य सरकारी अड्डा भन्दा देशका कर्णधारहरु निमार्ण गर्ने शिक्षा क्षेत्रमा भ्रष्टाचार हुनु दुखःद भएको जानकारहरु बताउँछन् ।