मन्त्रालय प्रवेश गर्न नपाएपछि गेटबाटै फर्किए शिक्षकहरु


काठमाडौँ । नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नवनियुक्त मन्त्रीलाई बधाई दिन गएका थिए, तर विशेष कारणले मन्त्रालय प्रवेश नगरी नै फर्किएका छन् ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, “हामी नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि जाँदै थियौँ, तर विशेष कारणवश आज मन्त्रालय प्रवेश नगरी फर्किएका छौँ,” भनेका छन् ।
उनले मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको पनि स्पष्ट पारे।
यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई वार्ताका लागि बोलाएको थियो । शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षकहरूलाई लचिलो भएर वार्तामा सहभागी हुन आग्रह गरेका छन् । उनले सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको र संविधान, कानुन तथा बजेटको सीमाभित्र रहेर समाधान खोजिने बताएका थिए ।
सर्वोच्च अदालतले शिक्षकहरूको माग तीन दिनभित्र सम्बोधन गर्न अन्तरिम आदेश दिएपछि सरकार वार्ताको तयारीमा देखिएको हो । तर अहिलेसम्म वार्ता भने हुन सकेको छैन ।
शिक्षकहरू विद्यालय शिक्षा ऐन संशोधनको माग राख्दै तीन सातादेखि काठमाडौंमा आन्दोलनरत छन् ।