शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको निर्देशन –‘आइतबारदेखि विद्यालय नआए राजीनामा दिनु’


गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षकहरुलाई १४ गतेदेखि विद्यालयमा उपस्थित हुन आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै १४ गतेदेखि विद्यालयमा उपस्थित हुन र नियमित पठनपाठन सुरु गर्न आग्रह गरेको हो ।
पालिकाले शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सम्पूर्ण विद्यालयको अध्ययन अध्यापनमा समस्या भएको भन्दै आगामी आइतबारदेखि सबै शिक्षक तथा कर्मचारीलाई विद्यालयमा उपस्थित भइ नियमित रुपमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । पालिकाले तोकेको समयमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई रानीनामा दिन समेत निर्देशन दिएको छ ।
पालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले यस पालिका भित्रका सम्पूर्ण विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले मिति २०८२/०१/१४ गते देखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन र नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरुलाई अनुरोध छ। साथै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाई जानुहुन निर्देशित गरिन्छ।’