शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुँदै


काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता हुने भएको छ । वार्ता शिक्षा मन्त्रालयमा बिहान ७ः३० बजेबाट सुरू हुनेछ । शिक्षकहरूसँग वार्ता गर्न लागिएको शिक्षा मन्त्रालयका सहसचिव युवराज पौडेलले जानकारी दिए ।
वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले वार्ता आह्वान गरेका हुन् । हिजो दिउँसो ३ बजे हुने भनिएको वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू वार्ता नगरी फर्किएका थिए ।
मन्त्रालय आफैंले शिक्षकहरूको वार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति दिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको वार्ता भाँडिन पुगेको थियो ।तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज वार्ता हुन लागेको हो ।