प्रधानमन्त्री ओली सहभागी भएको कार्यक्रमलाई लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार

रुपन्देही । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रमलाई लुम्बिनी प्रदेशका मन्त्री र सांसदले बहिष्कार गरेका छन् । लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले बहिष्कार गरेका हुन् ।
प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्था समेत नगरी अपमानजनक व्यवहार भएको भन्दै मन्त्री ढकाल र सांसद गुप्ताले बहिष्कार गरेको बताएका छन् । सांसद गुप्ताले संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको समेत बताए । संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने उनको भनाई छ ।
मन्त्री ढकालले भने बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि उभिएर बस्न सम्भव नदेखेर कार्यक्रम स्थलबाट हिँडेको बताए ।
वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो ।