सरकार लाज पचाएर शिक्षकहरुलाई अपमान गर्नेतिर लागेको छ: प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार शिक्षकहरुलाई अपमान गर्नतिर लागेको बताएका छन् । प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले सरकार लाज पचाएरै शिक्षकहरुलाई अपमान गर्न लागिपरेको बताएका हुन् ।
उनले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको समेत दाबी गरे । अध्यक्ष प्रचण्डले सरकारले शिक्षकसँग भएका सहमति अनुसार नै ऐन जारी गर्नुपर्ने र त्यसका लागि छोटो बाटो अपनाउनुपर्ने समेत बताए । उनले भने, ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ । शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्यसका लागि छोटो बाटोबाट लानुपर्छ ।’
प्रचण्डले अदालतले समेत आदेश जारी गरिसकेकाले शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण सरकारले जसरी पनि गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन पनि सरकारले काम गर्नुपर्छ । अदालतले पनि आदेश जारी गरिसकेको छ । त्यो पनि गर्न खोजेको जस्तो देखिँदैन । सरकार त्यसको निम्ति तयार देखिँदैन ।’