Ad Image

उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745742152.jpeg

सियोल । मस्को र किएभबीचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको रुस र दक्षिण कोरिया दुवैका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।


दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सेनाले कुर्स्क सीमा क्षेत्रको मुक्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।


“म कुर्स्क क्षेत्रको सीमावर्ती क्षेत्रको मुक्तिमा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाका सैनिकहरूको सहभागिताबारे प्रकाश पार्न चाहन्छु, उनीहरूले हाम्रा देशहरू बीचको व्यापक रणनीतिक साझेदारी सम्बन्धी सन्धि अनुसार युक्रेनी सशस्त्र बलको आक्रमणकारी समूहलाई पराजित गर्न महत्त्वपूर्ण सहयोग प्रदान गरे”, गेरासिमोभले क्रेमलिनको वेबसाइटमा पोस्ट गरिएको भिडियो कन्फरेन्सको प्रतिलिपिमा भने ।


पुटिनले आफ्नो देशले सीमा क्षेत्र कुर्स्कको नियन्त्रण पुनः प्राप्त गरेको दाबी गर्नुभएको छ । कुर्स्कमा युक्रेनले गत वर्ष आश्चर्यजनक आक्रमण गरेको थियो ।


पुटिनका अनुसार कुर्स्क सीमा क्षेत्रमा शत्रुको पूर्ण पराजयले मोर्चाका अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा रूसी सेनाको थप सफल कार्यका लागि अवस्था सिर्जना गर्दछ र ‘नव–नाजी शासनको पराजयलाई नजिक ल्याउँछ’ ।


सरकारी सञ्चार माध्यम तासका अनुसार रूसी राष्ट्रपतिले कुर्स्क क्षेत्रको मुक्तिमा भाग लिने सैन्य एकाइहरूका सैनिकहरूलाई बधाई र धन्यवाद दिए ।


रुसको उत्तर कोरियाली सेनाको स्वीकारोक्ति अमेरिका, दक्षिण कोरिया, बेलायत र युक्रेनले उत्तर कोरियाली सेना युद्धको मोर्चामा देखिएको लगभग एक वर्षपछि आएको हो ।


तर युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एउटा टेलिग्राम पोस्टमा कुर्स्कमा शत्रुता अन्त्य भएको पुटिनको दाबी ‘सत्य नभएको’ बताए ।


“कुर्स्क क्षेत्रका तोकिएको क्षेत्रमा युक्रेनी रक्षा बलको रक्षात्मक अभियान जारी छ । परिचालन अवस्था गार्‍हो छ, तर हाम्रा एकाइहरूले आफ्नो स्थिति कायम राख्दै आफ्नो तोकिएको कार्यहरू सम्पादन गरिरहेका छन्”, टेलिग्राम पोस्टले सिएनएनको एक रिपोर्ट अनुसार भनेको छ ।


अमेरिकी समाचार आउटलेटको रिपोर्टमा ‘युक्रेनले अगस्टमा कुर्स्कमा आफ्नो आकस्मिक आक्रमण सुरु गर्‍यो, जुन दोस्रो विश्वयुद्धपछि विदेशी शक्तिले रुसमा गरेको पहिलो स्थल आक्रमण थियो’ भनेको छ ।


यसैबीच शनिबार बिहान भ्याटिकनमा स्वर्गीय पोप फ्रान्सिसको अन्त्येष्टिमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो बैठक भएको थियो ।


ह्वाइट हाउसका प्रवक्ताले बैठकलाई ‘फलदायी’ भएको बताए । जेलेन्स्कीले बैठकका लागि ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेख्नुभएको छ, “यदि हामीले संयुक्त परिणामहरू प्राप्त गर्यौँ भने यो ऐतिहासिक बन्ने सम्भावना छ ।”


पछि शनिबार ट्रम्पले गत हप्ता किएभमा घातक आक्रमणको लहर सुरु गरेकामा रुसमाथि नयाँ प्रतिबन्धहरू लागु गर्ने सम्भावना उठाएका थिए ।


“विगत केही दिनदेखि पुटिनले नागरिक क्षेत्र र सहरहरूमा क्षेप्यास्त्र प्रहार गर्नुपर्ने कुनै कारण थिएन”, ट्रम्पले ट्रुथ सोसलमा एक पोस्टमा लेखेका छन् ।