Ad Image

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745749123.jpeg

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा निराजन सुवेदीले जानकारी दिए ।


उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।


समितिले चार दिनभित्र प्रतिवेदन बुझाउने छ । आगलागीका कारण आजदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा. सुवेदीले बताए । आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपिडी सेवा बन्द गरिएको उनले उल्लेख गरे ।


अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिनलगायत सबै जलेर नष्ट भएकाले पनि ओपिडी सेवा प्रभावित भएको सुवेदीले बताए । उनका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् ।


शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसके पनि भौतिक क्षति भने भएको अस्पतालले जनाएको छ ।


मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले जानकारी दिए । उनका अनुसार आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधि जलेर नष्ट भएका छन् ।


आगलागीको कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी नियन्त्रण गर्न करिब दुई घण्टा लागेको थियो ।