शिक्षक र सरकारबीचको वार्ता सहमति नजिक, बुधबारसम्म माग सम्बोधन हुन्छ : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट निस्किँदै उनले सञ्चारकर्मीहरुसँग आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेको बताए ।
उनले शिक्षकहरुसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए । यद्यपि मन्त्री रघुजी पन्तले आजको वार्ताको जानकारी गराए पनि शिक्षकहरूको आन्दोलनको एजेण्डा आजको क्याविनेटमा नभएको उनको भनाइ छ ।
‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ । मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो भोलिसम्ममा सम्भवत: समाधान हुने अपेक्षा गरिएको छ ।’