जेठको पहिलो साताभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई महानगरको निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी (संस्थागत) विद्यालयलाई गरिब, अपांगता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति वितरण गर्न आग्रह गरेको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ अनुसार जेठको पहिलो साताभित्र छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेको हो ।
शैक्षिक सत्र २०८२ मा पनि कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दस प्रतिशतमा नघट्ने गरी तोकिए बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयको सूचना पाटीमा सूचना टाँस गर्न पनि महानगरको आग्रह छ।
छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) मा रहेको देहाय बमोजिमको छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र छात्रवृत्ति वितरण गर्न पनि भनेको छ।
