Ad Image

जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४ सय घरको बीमा गर्ने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1746066632.jpg

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार चार सय घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घर बीमा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार चार सय घरको बीमा गर्न लागिएको जानकारी दिए ।

 

गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकोमा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनको भनाइ छ ।

 

अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपदबाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’

 

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपदबाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।