शिक्षक महासंघले भन्यो– ऐन तत्काल जारी नहुने भएपछि आन्दोलन लम्ब्याउन गाह्रो भयो


काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २९ दिनसम्म आन्दोलनमा साथ दिने शिक्षकप्रति आभार व्यक्त गरेका छन् । सरकारसँग ९ बुँदे सहमति भएपछि बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष सुवेदीले आन्दोलनमा सहभागी शिक्षकहरूप्रति आभार व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्,‘ यस पटकको शिक्षक–कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट शुरु भयो। समग्रमा आन्दोलन ८९ दिन चल्यो तथापि अन्तिम चरणको २९ दिनको काठमाडौं केन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो । यसको मुख्य कारण साथीहरुको उत्साहजनक सहभागिता र नेतत्वप्रतिको समर्थन हो । यसका लागि सबै आन्दोलनकारी साथीहरुप्रति अभारी छौं ।’
विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरुन्तै ऐन जारी हुने परिस्थिति नभएको र यो आन्दोलन यस्तैरुपमा महिनौं लम्ब्याउने अवस्था पनि जटिल बनेकाले यो सहमति भएको उनले प्रष्ट पारेका छन् । ‘संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिवद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारित हुने गरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं’, उनले लेखेका छन् ।
अध्यक्ष सुवेदीले वर्षौदेखि नमिलेको समान ग्रेड र तलबको मुद्दा यसपटक हल भएको उल्लेख गरेका छन्। ‘अस्थायी प्रकृतिका साथीहरूको विरामी विदा सञ्चित हुने भएको छ। सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ। सबै शिक्षकका लागि दुर्गमभत्ता उपलब्ध हुने निश्चित भएको छ। मर्यादाक्रमको सवाल सम्बोधन भएको छ’, सुवेदीले थप लेखेका छन्।
अध्यक्ष सुवेदीले आवधिक बढुवा, अस्थायी अवधि गणना, पछिल्लो चरणमा स्थायी भएका साथीहरुको निवृत्तीरभण जस्ता सवाल ऐनले सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । २०७५ पछि स्थायी भएका साथीहरुको निवृत्तीभरणको सवालमा आन्दोलन कै क्रममा केही सफलता हात भएको उनको भनाइ छ। यसलाई पूर्णता दिन निवृत्तीभरण कोष ऐन २०७५ को संशोधन गर्नुपर्ने र त्यसका लागि शिक्षा ऐन जारी सँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहने विश्वास व्यक्त गरेका छन्।