जसपाकी नेता सिंहले पड्काएको पेस्तो*ल सर्लाहीबाट बरामद, हल्दी कार्यक्रममा पड्काएको खुल्यो


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरेको हो ।
नेता सिंहले पेस्तोल पड्काएको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले नेता सिंहलाई प्रहरी कार्यालयमै बोलाएर सोधपुछ गरेको छ ।
सोधपुछबाट सिंहले पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको छ । गत वैशाख ११ मा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो ।
पेस्तोल नक्कली रहेको प्रहरीकाे आशंका छ । प्रहरीले पेस्तोल परीक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ । यसअघि भिडियो भाइरल भएपछि सिंहले उक्त घटना भारतको सीतामढिको भएको दाबी गरेकी थिइन् ।