काठमाडौं महानगरमा शैक्षिक गोलमेच, ‘बुक फ्रि फाइडे’ को चर्चा !


काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बुक फ्री फ्राइडे कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको निष्कर्ष निकालिएको छ । काठमाडौं महानगरपालिकाले युनिसेफ, युरोपियन युनियन, वेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा जनकल्याण माध्यमिक विद्यालय, बौद्धको बहुउद्देश्यीय सभा कक्षमा आयोजना गरेको ‘नव प्रवर्तनका कोणबाट शैक्षिक नीति र अभ्यासको अनुकूल र प्रतिकूल परिस्थिति’ विषयक गोलमेचबाट यस्तो निष्कर्ष आएको हो ।
एउटै गोलमेचमा वरिपरि बसेर संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, वहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरुले आपसी अभ्यास आदानप्रदान गरेका थिए । आफूले कार्यान्वयनमा ल्याएका अभ्यास र आफूले सुनेका नविनतम शैक्षिक अभ्यासको अनुकूलता र प्रतिकुलताको विश्लेषण र आगामी दिशा कस्तो हुनुपर्छ भन्ने विषयमा आपसी कुराकानी भएको थियो ।

नविनतम शैक्षिक कार्यक्रमको प्रतिनिधि कथाका रुपमा महानगरपालिकाले कार्यान्वयनमा ल्याएको बुक फ्री फ्राइडे (पुस्तकरहित शुक्रबार) लाई राखिएको थियो । कार्यक्रम कार्यान्वयनका लागि तर्जुमा गरिएका नीतिगत प्रबन्ध, यसको कार्यान्वयन प्रक्रियामा बजेट, योजना तथा कार्यक्रम कार्यान्वयनको अभ्यास प्रस्तुतिपछि उसलाई उदाहरण कथा बनाइएको थियो ।
कार्यक्रमका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा र शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले संयुक्त प्रस्तुतिकरण गरेका थिए । शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’ महानगरपालिकाले लगानी बढाएको छ । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन् ।

सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ । शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइइमा ७८ प्रतिशत नतिजा आएको छ । नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । स्वर्णिम योजना सुन्दर विद्यालयले वातावरणीय सुधार, स्वच्छता र सरसफाइका लागि काम भएको छ ।
स्वर्णिम योजना रचनात्मक विद्यालयले खेललाई शिक्षासँग जोडेर सञ्चालन गरिने कार्यक्रम विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुगेको छ । कक्षा कोठाहरुमा स्मार्ट बोर्ड, ल्यापटपसहित सूचना प्रविधिका उपकरण प्रदान गरेर सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप गरिन्छ । शिक्षकहरुको क्षमता विकासका लागि टिचर्स कलेज कार्यक्रम, विषयगत तालिम सञ्चालन गरिएको प्रस्तुतिको सार थियो ।
समूहगत छलफलपछिको सार प्रस्तुतिकरणमा समूहका प्रतिनिधिहरुले, उत्तरदायी नेतृत्व, स्पष्ट नीति, नीतिअनुसारको वार्षिक कार्यक्रम, कार्यक्रमले माग गरेको बजेटको व्यवस्था र यसलाई कार्यान्वयन गर्ने संयन्त्रले कार्यक्रम कार्यान्वयनलाई अनुकुल बनाउने निष्कर्ष सुनाए । कार्यक्रमसँग शिक्षक, विद्यार्थी र अभिभावकसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध जोडिँदै जानु, विद्यालयको पूर्वाधारमा सुधार हुनु, प्रविधिमा पहुँच बढ्नु, स्वच्छता र सरसफाइमा काम हुनु, प्रयोगशाला स्थापना हुनु जस्ता महसुस योग्य कामले कार्यान्वन पक्षलाई प्रोत्साहित गर्छ । यसले वातावरणलाई अनुकूल बनाउँदै लैजान्छ ।

जनशक्तिको संख्या कम हुनु, स्रोत र साधनको प्रयोगमा तत्परता कम हुनु, कार्यक्रम सञ्चालनमा आन्तरिक अपनत्व कमजोर हुनुले प्रतिकुलता सिर्जना गर्छ । कार्यक्रम कार्यान्वयनको सबैभन्दा ठुलो चुनौती भनेको, धेरै मानिसलाई नयाँ अवधारणामा अभ्यस्त गराउनु हो । प्रतिकुलताका बुँदामा टिपिएका थिए ।
अहिलेसम्म प्राप्त गरेका उपलब्धिलाई दिगो बनाउने नीतिगत र संस्थागत प्रबन्ध बनाउँदै जानुपर्ने, शिक्षकलाई प्रोत्साहित गर्दै नेतृत्व विकास गराउँदै लैजानु पर्ने, अपनत्व बढाउनु पर्ने, विद्यालय र समुदाय तथा विद्यालय र अभिभावक सम्बन्धलाई शैक्षिक नतिजाको प्रमुख सूचक बनाउनु पर्ने सुझाव प्राप्त भएका छन् ।
छलफलमा स्याङ्जाको गण्डकी प्रदेश, पुतलीबजार नगरपालिका स्याङ्जाका प्रमुख तुलसीराम रेग्मी, सुदुरपश्चिम प्रदेश, बडीमालिका नगरपालिका, बाजुराका प्रमुख अमर खड्का, कर्णाली प्रदेश, लेकबेँसी नगरपालिका, सुर्खेतका प्रमुख उमेश कुमार पौडेल, कर्णाली प्रदेश, सिमिकोट गाउँपालिका, हुम्लाका अध्यक्ष बिजय भण्डारी, सुदुर पश्चिम प्रदेश, जानकी गाउँपालिकाका, कर्णालीका अध्यक्ष गणेश चौधरी, वागमती प्रदेश, सुनापाती गाउँपालिका रामेछापका अध्यक्ष ठुलोकान्छा तामाङ्, लुम्बिनी प्रदेश, गढवा गाउँपालिकाका, दाङ्का अध्यक्ष यमनारायण शर्मा, वागमती प्रदेशको ककनी गाउँपालिकाका, नुवाकोटका उपाध्यक्ष मिठु लामा, कोशी प्रदेश उदयपुर जिल्लाको लिङ्छुङ्वुङ् गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक जितेन्द्र राईसहित जनप्रतिनिधिहरुले साझेदारसँग बसेर अन्तरक्रियात्मक छलफल गरेका थिए ।
उनीहरुले, कार्यक्रम कार्यान्वयनमा बजेट महत्वपूर्ण पक्ष रहेको, आफ्ना पालिकामा थोरै बजेटबाट हुन सक्ने काम गर्दै गएको बताउँदै काठमाडौंले बुक फ्री फ्राइडे कार्यक्रम सञ्चालन गरेको सुन्दा आफ्ना ठाउँमा कसरी गर्न सकिएला भन्ने लागेको तर, गोलमेचबाट कार्यक्रम सञ्चालन विधि थाहा पाउन सकेको प्रतिक्रिया दिए । सोच कार्यान्वयनमा नेतृत्वको दृष्टिकोणले अहम भूमिका खेल्ने बताउँदै उनीहरुले कतिपय सोच कार्यान्वयनमा बजेट आवश्यक नपर्ने धारणा राखे ।
गोलमेचका लागि मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्भिन्द्रलाल कर्ण, पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गेल, जितपुर सिमरा उपमहागरपालिकाका सामाजिक तथा शिक्षा विभाग प्रमुख शिवजी प्रसादसहित अधिकारी सहभागी हुन आएका थिए ।
यस्तै शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक खुवीराम अधिकारी, परीक्षा नियन्त्रण महाश्रम शर्मा, त्रिभुवन विश्वविद्यालयका डीन डा. वेदराज आचार्य, पूर्व सचिवहरु लवदेव अवस्थी र डा. दिपेन्द्रविक्रम थापाले गोलमेचमा छलफल गर्दै बालमैत्री सिकाइका लागि महानगरपालिकाले अगाडि सारेका नविन शैक्षिक कार्यक्रम सम्बन्धी सन्देशले अन्य स्थानीय तहलाई कार्यक्रम चलाउन सहज भएको धारणा राखे ।

युनिसेफका प्रतिनिधि जिम्मी ओस्ट्रुम, युरोपियन युनियन प्रतिनिधि अनुक भान नेक, वेलायत सहयोग कार्यक्रम, सिवानी मिश्र, कारखाना समूहका प्रतिनिधि सचेत मानन्धर सहितका अधिकारीहरुले स्थानीय सरकार समुदायको सबैभन्दा नजिक भएको सरकार हुनाले बालबालिकाको वृहत्तर विकासका लागि स्थानीय सरकारले सञ्चालन गर्ने शैक्षिक नविनतम कार्यक्रममा साझेदारी गर्न आपसी ज्ञान र सीप उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।
कार्यक्रम थालनी हुनुअघि नवप्रवर्तनमा आधारित महानगरपालिकाले सञ्चालन गरेका शैक्षिक क्रियाकलापहरुको प्रदर्शनी गरिएको थियो । यसमा कार्यक्रम र उपलब्धिसँग सम्बन्धित चित्र, संकेत, ग्राफ, पाइचार्ट, तथ्याङ्क समेटिएका सिर्जनात्मक सामग्री थिए । यसमा पहुँचयुक्त र समावेशी शैक्षिक कार्यक्रम, विद्यालयहरुको पूर्वाधार परीक्षण, सूचना प्रविधि परीक्षण, रचनात्मक विद्यालय, एकीकृत अध्यापन, सिकाइ र मूल्याङ्कन, विशेष शिक्षालगायत क्षेत्र समेटिएका थिए ।
महानगरपालिकाले शैक्षिक सुधारका आवश्यक पर्ने नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नका लागि क्षेत्रगत पृष्ठपोषण लिने काम गरिरहेको छ । अबको करिब २ महिनापछि राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदार, विज्ञ, सरोकारवाला र वहुक्षेत्रीय पक्षलाई सहभागी गराएर शैक्षिक सम्मेलन आयोजना गर्दैछ । यसपटकको गोलमेचलाई सम्मेलनको पूर्व अभ्यासका रुपमा लिइएको छ । यसअघि काठमाडौँ एजुकेसन फेस्ट गरिएको थियो ।