काठमाडौं महानगरको सीप मेला ७ जेठबाट, २ हजार जनालाई तालिम दिने तयारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने गर्ने भएको छ । सीप मेलाबारे जानकारी दिँदै महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले यस संस्करणमा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको बताए ।
विश्व मजदुर दिवस २०८२ का सन्दर्भमा सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारका विषयमा कुरा गर्दै उनले सिपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताएका हुन् ।
१५ हजार जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्य सहित आर्थिक बर्ष २०८०/८१ देखि महानगर गौरब योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ । सिप नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य हो ।
मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए । मेलाबाट विभिन्न विधामा २ हजार ८१ जना युवाहरुलाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो । त्यसमा लक्ष्यभन्दा धेरै २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको थियो । रोजगार र स्वरोजगारमा आवद्ध भएका र महानगरपालिकाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीहरुसँग सहकार्य गरेर महानगरपालिकाले अन द जब ट्रेनिङ् गराइरहेको छ ।
आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य हो । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।
गएको वर्ष फाराम भरेर तालिम लिन नपाएका आवेदक, महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा ब्यापार गरेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ ।
वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुनिवेँसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ लाई ल्याण्डफिल साइटका प्रत्यक्ष प्रभावित वडा हुन् । यस वर्ष १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित विषयमा तालिम हुनेछन् । यी विधा र विषय छनोट उद्योग, श्रम बजार र समाजको माग अध्ययनलाई आधार बनाइएको छ ।