म्याग्दीको ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायाङ्कन


बेनी । गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायाङ्कन सुरु गरिएको छ ।
धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रुपमा परिचित छ । सो ठाउँमा पहिलो पटक चलचित्रको छायाङ्कन गर्न थालिएको हो ।
गाउँमा ठूलो पर्दाको चलचित्र छायाङ्कन गर्न निर्माता र कलाकारहरूको टोली आएपछि स्थानीयवासीले बाजागाजा र नाचगान गरेर स्वागत गरेका छन् ।
त्यस अवसरमा स्थानीय मन्दिरमा पूजापाठ गरेर धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले र वडाध्यक्ष अशोक खत्रीले छायाङ्कन कार्यको शुभारम्भ गरे ।
चक्रीय धौलागिरि पदमार्ग, गुरिल्ला पदमार्ग र ढोरपाटन जलजला जाने पदमार्गले समेटिएको यस गाउँमा चलचित्रको छायाङ्कनले देश–विदेशमा परिचित गराउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष पुनले बताए ।
आँखै अगाडि ठोकिन आउने हिमाल र परम्परागत ढुङ्गे घरहरूमा मिलेर बसेको ताकमगाउँ मनमोहक देखिन्छ । चलचित्रका निर्माता रोहित अधिकारीले छायाङ्कन गरिने ४० दिनमध्ये २० दिन ताकम र धारापानीगाउँमा छायाङ्कन हुनेछ भने बाँकी दृश्य म्याग्दीकै दरबाङ, तातोपानी क्षेत्रमा छायाङ्कन गरिने जानकारी दिए ।
आगामी दसैँको फूलपातीमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित छायाङ्कन सुरु गरिएको चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देललगायत कलाकारको प्रमुख अभिनय रहेको छ ।
मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायाङ्कन सुसन प्रजापतिले गर्ने जनाइएको छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा अधिकारी, रबिन शेरचन र धीरज तामाङ रहेका छन्भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् ।