Ad Image

प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ: सभामुख

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746252686.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा आज सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने अगुवा एवं आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

सभामुख घिमिरेले सन्देशमा भनेका छन्, “नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो ।”

 

प्रेस स्वतन्त्रता भनेको केवल पत्रकारको हक मात्र नभई, सुसूचित हुन पाउने जनताको पनि हक भएको उनको भनाइ छ । उनले स्वतन्त्र प्रेसको माध्यमबाट मात्र समाजमा सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने पनि उल्लेख गरेका छन् । उनले भने, “विश्व प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, प्रवर्द्धन र सरोकारका विषयहरूमा गम्भीर बहस गर्न प्रेरित गर्ने महत्त्वपूर्ण अवसर हो ।”