Ad Image

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पंक्षी गणना गरियो

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746288650.jpg

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन क्षेत्रमा पंक्षी गणना गरिएको छ । जैविक विविधता संरक्षण समाज (बायोकस), नेपाल र वल्र्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजनामा उक्त क्षेत्रमा पक्षी गणना गरिएको हो । 

 

माछापुच्छ्रे गाउँपालिकास्थित पिलिचो, पिपर, खुमई, कोर्चां, लुब्रचु, चिचिम्ले, डाँफे चौर, हिले र ओदाने क्षेत्रमा यही वैशाख ४ देखि १८ गतेसम्म गणना गरिएको थियो । बायोकस नेपालले उक्त क्षेत्रमा डाँफे, मुनाललगायत कालिज प्रजातिको गणना सकाएर आज कास्कीको माछापुच्छ्रे–१ स्थित घाचोक गाउँमा तथ्याङ्क सार्वजनिक गरेको हो । 

 

उक्त क्षेत्रमा डाँफे एक सय ४६, मुनाल एक सय ४८, कालिज प्रजातिमा पर्ने प्यूरा एक सय ७० र फोक्रास १९ वटा फेला परेका बायोकसका निर्देशक डा पारसविक्रम सिंहले जानकारी दिए । यस क्षेत्रमा अन्य दुई सय प्रजातिका पक्षीहरू पत्ता लागेका उल्लेख गर्दै उनले १९ जना अनुसन्धानकर्ता र सहयोगीहरू दुई समूहमा विभाजन भई गणना गरिएको बताए । 

 

यसअघि सन् १९७९ देखि भएका विभिन्न सर्भेक्षणमार्फत यस क्षेत्रमा हालसम्म तीन सय १४ प्रजातिका चरा भेटिएका बायोकसका अध्यक्ष लक्ष्मण पौड्यालले जानकारी दिए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा सबै पाँच सय १८ प्रजातिका पक्षी भेटिएका छन् ।

 

सोही कारण अन्तरराष्ट्रियस्तरमा पक्षी अवलोकनकर्ता र अनुसन्धानकर्ताका माझ यो क्षेत्र ‘पिपर सेञ्चुरी’ वा ‘पिपर रिजर्भ’ नामले परिचित छ । वन्यजन्तु संरक्षणमा अवैध चोरी–सिकारी प्रमुख चुनौतीका रूपमा देखिँदै आएको पौड्यालले बताए । 

 

यस्ता गतिविधि नियन्त्रण गर्न बायोकस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ‘स्मार्ट’ नामक मोबाइल एपमा आधारित गस्ती प्रणाली सुरु गरेको छ । साथै, ट्रेल क्यामराको प्रयोगद्वारा निगरानी प्रणालीलाई थप मजबुत बनाइएको एक्याप पोखरा कार्यालयका प्रमुख डा रबिन कडरियाले बताए ।

 

स्थानीय निकाय माछापुच्छ्रे गाउँपालिका, ग्रेट माछापुच्छ्रे ट्रेल समितिलगायत स्थानीय समुदायको सहभागितामा पक्षी संरक्षणलाई जोड दिइएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले बताए । डाँफे, मुनाललगायत महत्त्वपूर्ण पक्षीको सङ्ख्यामा वृद्धि गर्दै माछापुच्छ्रेलाई पक्षी पर्यटन गन्तव्यका रूपमा विकास गरिने उनले उल्लेख गरे ।