Ad Image

भारतसँगको तनावकाबीच पाकिस्तानले गर्‍यो क्षेप्यास्त्र परीक्षण

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746290369.png

इस्लामाबाद । कश्मीरको विवादित क्षेत्रमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार ‘मिसाइल प्रक्षेपण’ गरेको जनाएको छ ।भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ ।

 

पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा ‘अब्दाली वेपन सिस्टम’ को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल) सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ । “यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्षको मूल्याङ्कन गर्न गरिएको हो,” पाकिस्तान सेनाले बताएको छ ।

 

तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन । उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए ।

 

पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ । यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

 

कश्मीरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ । छिमेकी चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली सङ्घले पछिल्लो अवस्था ‘गम्भीर र चिन्ताजनक’ भएको जनाएको छ ।

 

अमेरिकाका उपराष्ट्रपति जे.डी. भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई ‘क्षेत्रीय द्वन्द्वमा परिणत नहुने’ किसिमले प्रतिक्रिया जनाउन आग्रह गरे । साथै, पाकिस्तानलाई ‘आफ्नो भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न’ अनुरोध गरे । 

 

विश्वलाई सन्देश 

पाकिस्तानी विश्लेषकहरूले उक्त मिसाइल प्रक्षेपणलाई चेतावनीको रूपमा व्याख्या गरेका छन् । “यसले पाकिस्तानसँग भारतलाई प्रत्युत्तर दिने स्रोत र क्षमता छ भन्ने देखाउँछ । यो केवल भारतका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि सन्देश हो कि हामी तयारी अवस्थामा छौं,“ सैन्य विश्लेषक हसन अस्करी रिजवीले एएफपीसँग बताए । 

 

शुक्रबार पाकिस्तानी सेनाध्यक्ष जनरल सैयद आसिम मुनिरले उच्च सैन्य कमान्डहरूसँग हालको भारत–पाकिस्तान तनावबारे छलफल गरे । बैठकमा उनले सबै सीमाक्षेत्रहरूमा सजगता र तयारी बढाउन जोड दिएका थिए । 

 

भारतीय रक्षा स्रोतहरू अनुसार, दुबै देशले नियन्त्रण रेखा (एलओसी) मा नौ रातदेखि लगातार गोलीबारी गरिरहेका छन् । करीब १.५ करोड जनसङ्ख्या रहेको मुस्लिमबहुल कश्मीर क्षेत्र पाकिस्तान र भारतबीच बाँडिएको छ तर दुवै देशले यसलाई आफ्नो क्षेत्र भनेर दाबी गर्दै आएका छन् ।