प्रिन्टिङ मेसिन खरिद प्रकरण: विकल पौडेललाई २ वर्ष कैद र १३ करोड ५८ लाख जरिवाना


काठमाडौं ।विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद प्रकरणमा दोषी ठहर गरेको छ । पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेका पौडेललाई विशेष अदालतले २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार जरिवाना गरेको छ । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
प्रिन्टिङ मेसिन खरिदमा अन्य चार जनाले भने सफाइ पाएका छन् । प्रतिवादीहरु सफल श्रेष्ठ, नवीन कुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्क बहादुर थापाको बदनियतपूर्ण संलग्नता नदेखिएको भन्दै सफाइ दिएको छ । पौडेल यसअघि नै भ्रष्टाचार कसुरमा जेल सजाय कट्टा गरिरहेका छन् ।
पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको हो । म्याक्स इन्टरनेसनल प्रालि र उक्त प्रालिका सिइओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार जरिवाना र सोही बराबरको बिगो असुल गर्न भनिएको छ । हुसेनलाई पनि एक वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।
विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्क बापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने पनि ठहर गरेको छ । पौडेलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेविरूद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
उनीहरूसहितलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४० करोड ८५ लाख ७५ हजार ७४० रुपैयाँको बिगो मागदाबी गरेको थियो । उनीहरू चारै जनालाई विशेष अदालतले सफाइ दिएको छ । हाइ डिजिटल प्रिन्ट प्रडक्सन सिस्टम खरिद गर्न दुई वटा कार्यक्रमका लागि बजेट माग गरी भ्रष्टाचार गरेको ठहर गरिएको छ ।
कार्ड बेस्ड प्रेस मेशिनरी सफ्टवेयर र हार्डवेयर एन्ड रिलेटेड इक्विपमेन्टका लागि ३० करोड र पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एन्ड हार्डवेयर एन्ड रिलेटेड इक्विपमेन्टका ४६ करोड गरी दुई वटा कार्यक्रमका लागि ७६ करोड बजेट विनियोजन भएको थियो ।