Ad Image

शुक्लाफाँटा नगरपालिकाको प्राथमिकतामा अनुदानमा साना सिँचाइ कार्यक्रम

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746515840.PNG

कञ्चनपुर । कृषिको उत्पाकदत्व बढाउन शुक्लाफाँटा नगरपालिकाले अनुदानमा साना सिँचाइका कार्यक्रमलाई प्राथमिकता राखेको छ ।


चार वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा टि–बोरिङ एक सय २४, डिपबोरिङ तीन र स्यालो टयुबेल ३२  किसानलाई उपलब्ध गराएको छ । नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार आार्थिक वर्ष २०७८/७९ मा स्यालो टयुबेल २६, २०७९/८० मा टिबोरिङ ६६, डिपबोरिङ तीन र आव २०८०/८१ मा टिबोरिङ ४२, स्यालो टयुबेल छ र आरटेजन बोरिङ तीनवटा किसानको खेतमा जडान गरिएका छन् ।


चालु आवमा नगरपालिकाको कृषि विकास शाखाबाट १० वटा र वड नं ४ को बजेटबाट छवटा गरी १६ वटा टिबोरिङ किसानलाई उपलब्ध गराइएको छ । कृषि समूह, सहकारी, कृषि फार्ममार्फत किसानलाई अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिप टयुबेल जडान गरिएको शाखा प्रमुख धामीले बताए ।


भूमिगत जलस्रोतमा आधारित सिँचाइ प्रणालीमा जोड दिइएपछि किसानलाई खेतबारीमा लगाइने तरकारीबाली, अन्नबाली, उखुलगायत नगदेबालीमा सिँचाइ गर्न सहज भएको छ । अनुदानमा टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेललगायत उपलब्ध गराउने कार्यले नगरपालिकमा खेतीयोग्य जग्गाको ६५ प्रतिशत भागमा सिँचाइ सुविधा उपलब्ध भएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले बताए ।
 

उनका अनुसार निजी क्षेत्रबाट जडान गरिएका र अनुदानमा उपलब्ध गराइएका टिबोरिङ, स्यालो टयुबेल, डिपटयुबेलबाट गरी नगरपालिकाको खेतीयोग्य जग्गाको झण्डै ९० प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको छ । “सिँचाइको उपलब्धताले कृषिको उत्पादकत्व वृद्धि गर्न र किसानलाई समयमै खेती गर्न सहज भएको छ”, उनले भने, “सिँचाइकै सुविधाले विगतको तुलनामा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।”


किसानले मौसमी र बेमौसी दुवैथरिको खेतीमा संलग्न रहँदै आएको उनको भनाइ छ । शुक्लाफाँटा–९ का किसान धनिराम चौधरीले अनुदानमा टिबोरिङ जडान भएपछि खेती समयमै लगााउन पाइएको बताए । “विगतमा सिँचाइ सुविधा नहँदा अकासे पानीको भर पर्नुपथ्र्यो, थोरै अन्न उत्पादन हुँदा परिवार पाल्न समस्या हुन्थ्यो”, उनले भने, “बोरिङ जडान भएपछि समयमै खेती गरिने भएकाले अन्न उत्पादन वृद्धि हुन थालेको छ ।”