Ad Image

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न–‘केपी ओली नेतृत्वको सरकार कसरी असंवैधानिक भयो ?’

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746520632.PNG

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केपी ओली नेतृत्वको सरकार कसरी असंवैधानिक भयो भनेर प्रश्न गरेका छन् ।


मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले संविधानको धारा ७६ अनुसार प्रचण्डको नेतृत्वमा सरकार बन्दा प्राकृतिक हुने त्यही व्यवस्था अनुसार केपी अ‍ोलीको नेतृत्वमा सरकार बन्दा कसरी असंवैधानिक हुने भन्दै प्रचण्डलाई प्रश्न गरेका हुन् ।


एमालेका सचिव समेत रहेका सांसद भट्टराईले प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेको विषयमा आलोचना गरेका छन् । उनले प्रचण्डलाई आफू सिसाको घरमा बसेर ढुंगा हान्ने काम नगर्न समेत भनेका छन् ।

 

भट्टराईले भने, ‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मूर्खता नहोस् ।’

 

उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भनेर समेत प्रश्न गरेका छन् । उनले प्रचण्डलाई बहालवाला प्रधानसेनापति र मुख्यसचिवलाई आफैँले हटाएको भन्दै आफूले गरेको बेथितितिर फर्केर हेर्न आग्रह गरे ।

 

उनले भने,‘ प्रचण्डलाई भन्न चाहन्छु, तपाईँले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईँले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई ? अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो तपाईँले। यस्ता काम त गर्नुभयो तपाईँले। अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता किन गरिरहनुभएको छ ? मुटुमै गोली लागेजस्तो किन भएको छ? के भएको ।’

 

त्यसैगरी भट्टराईले कुनै अपराध गरे जस्तो गरेर झापाको दमकमा बनेको भ्युटावरको आलोचना नगर्न पनि उनको आग्रह छ ।