अन्तरपालिका खुला मेयर कप फुटबल: चाँगुनारायणलाई हराउँदै काठमाडौँ महानगर विजयी


ललितपुर । अन्तरपालिका खुला मेयर कप फुटबल २०८२ खेलअन्तर्गत भएको खेलमा काठमाडौँ महानगरपालिका विजयी भएको छ ।ललितपुरको एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा भएको खेलमा काठमाडौंले चाँगुनारायण नगरपालिकालाई ५–० गोलले पराजित गरेको हो ।
काठमाडौंको तर्फबाट राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले १/१ गोल गरे । समूह बि मा रहेको महानगरपालिकाले यसपछिको खेल मध्यपुर थिमी नगरपालिकासँग खेल्नेछ । काठमाडौँ महानगरपालिका मेयर कप फुटबल पहिलो संस्करणको विजेता हो ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका प्रतिस्पर्धामा छन् ।
सेमिफाइनलको पहिलो खेल समूह ‘ए’ को विजेता र समूह ‘सी’का विजेता बिच हुनेछ । यस्तै दोस्रो खेल समूह ‘वी’ र समूह ‘डी’ का बिच हुनेछ । सेमिफाइनल खेल ‘१’ का विजेता र सेमिफाइनल खेल ‘२’ का विजयीबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टिमलाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, उपविजेता टिमलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ ।