Ad Image

पुटिनले रूसको विजय दिवस परेडमा चिनिया राष्ट्रपति सीलाई बनायो प्रमुख अतिथि

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746550535.jpg

मस्को । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच यही मे ८ तारिख मस्कोमा हुने उच्चस्तरीय बैठकमा युक्रेन सङ्कट तथा रूस–अमेरिका सम्बन्धका विषयमा गहन छलफल हुने भएको छ । 

 

राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीचको यो वार्ता दुई देशबीचको आपसी समझदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा परस्पर समन्वयको निरन्तरताका रूपमा लिइएको क्रेमलिनले जनाएको छ । रूसले फेब्रुअरी सन् २०२२ मा युक्रेनमा सैन्य अभियान आरम्भ गरेयता मस्को र बेइजिङबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ ।

 

क्रेमलिनका वरिष्ठ सहयोगी युरी उशाकोभले पत्रकारहरूसँग भने, “सबैभन्दा महत्वपूर्ण विषयहरू राष्ट्रपतिको प्रत्यक्ष छलफलमा समावेश हुनेछन् ।” राष्ट्रपति सीको भ्रमण राजकीयस्तरको हुनेछ, जसको शुभारम्भ बुधबारबाट हुनेछ । राष्ट्रपति सी मे ९ मा मस्कोस्थित रेड स्क्वायरमा आयोजना हुने रूसको ऐतिहासिक विजय दिवस परेडमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ ।

 

चीनले युक्रेन युद्धप्रति तटस्थ धारणा प्रस्तुत गर्दै आएको छ, यद्यपि केही पश्चिमी राष्ट्रहरूले रूसप्रतिको चिनियाँ सहयोगलाई उल्लेख गर्दै बेइजिङले आर्थिक र कूटनीतिक समर्थन गरेको दाबी गर्दै आएका छन् । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा चीनमाथि रूसलाई हतियार उपलब्ध गराएको आरोप लगाएका थिए ।