युवा संघ पर्वतको भेलामा नेता कार्यकर्ताबीच झडप, दुई जना घाइते


पर्वत। राष्ट्रिय युवा संघ पर्वतको भेलामा नेता कार्यकर्ताबीच झडप भएको छ । नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा अधिवेशन गर्ने र नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको हो ।
झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्व श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वतस्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबीच अधिवेशन गर्ने र रोक्ने विषयमा विवाद भएको थियो। गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।
राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।