नवराज विकसहित ६ जनाको हत्या प्रकरण: पीडित परिवारले दिए न्याय परिषदमा उजुरी

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका पीडित परिवारले जातीय विभेद कसुर बदर गरेको भन्दै न्याय परिषदमा उजुरी दिएका छन्। उनीहरुले बिहीबार न्याय परिषदमा उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध उजुरी दिएका हुन्।
घटनामा मारिएका नवराज विकका बुवा मुनलाल नेपाली, गोबिन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले परिषदमा उजुरी दिएका छन् ।
उच्च अदालत सुर्खेतका न्यायाधीशहरू मैनाली र भण्डारीले गत वैशाख १६ गते सोती घटनामा २३ जना आरोपीलाई जिल्ला अदालत सुर्खेतले दिएकै जन्मकैद सजायलाई सदर गरेको थियो। तर जातीय भेदभाव तथा छुवाछुतमा जिल्ला अदालतले गरेको दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानालाई भने बदर गरेको थियो ।
२०७७ जेठ १० गते सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोबिन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।