Ad Image

भारत–पाकिस्तानको तनावमा नेपालले चासो देखाउनुपर्छ : सांसद खनाल

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746780486.PNG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गर्दै घटनाले सम्पूर्ण क्षेत्रीय स्थायित्वमा असर पार्ने चेतावनी दिएको छ ।

 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवाद कसैका लागि हितकारी नहुने उल्लेख गर्दै उक्त आक्रमणले भारत–पाकिस्तानबीच थप तनाव निम्त्याएको बताए ।

 

“पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ,” खनालले भने, “छिमेकी मुलुकको हैसियतमा मात्र होइन, सार्कको अध्यक्ष राष्ट्रको नाताले पनि नेपालले क्षेत्रीय शान्ति र स्थायित्वमा चासो देखाउनुपर्छ।”

 

खनालले परराष्ट्र मन्त्रालयद्वारा घटनापछि जारी गरिएको वक्तव्यको स्वागत गर्दै ढिलै भए पनि स्पष्ट रूपमा आतंकवादको विरोध जनाइएकोमा सन्तोष व्यक्त गरे ।

 

उनले सम्भावित युद्धपरक स्थितिका प्रभावहरूबारे नेपाल सरकारले गम्भीर भएर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

 

“यदि भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भयो भने नेपालले भोग्नुपर्ने सुरक्षा, आर्थिक तथा आपूर्ति शृङ्खला प्रभावित हुन सक्छ,” उनले भने, “त्यसका लागि पूर्वतयारी गर्न आवश्यक छ।”

 

खनालले पाकिस्तानमा अध्ययनरत ८० जना नेपाली विद्यार्थीहरूले उद्धार तथा सुरक्षाका लागि सरकारलाई आग्रह गरिसकेको जानकारी दिँदै समग्र परिस्थितिको मूल्याङ्कन गरी आवश्यक तयारीबारे संसदलाई जानकारी गराउन रूलिङको मागसमेत गरे ।