जनता भोक सहेपनि अन्याय सहँदैनन् : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डीपी अर्यालले अहिलेको प्रदेश संरचना नेपालका लागि असहज भएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले वर्तमान संघीय ढाँचा मुलुकको आर्थिक भार थेग्न नसक्ने अवस्था आएको उल्लेख गरे । अहिलेको संरचनाले समस्याको समाधान नभई बोझ थपेको उनको आरोप छ ।
अर्यालले अबको नीति तथा कार्यक्रममा स्थानीय तहलाई केन्द्रमा राखेर सशक्त बनाउने योजना आउनु पर्नेमा जोड दिए । “शक्ति विकेन्द्रीकरणको मूल भावना स्थानीय तह सुदृढ बनाउने हो,“ उनले भने, “तर व्यवहारमा त्यो देखिएको छैन।”
अर्यालले सुशासनको सवाल उठाउँदै भने, “जनताले खोजेको प्रमुख कुरा सुशासन हो। नेपाली जनता भोक सहे पनि अन्याय र बेथिति सहँदैनन्।” उनले वर्तमान नीति तथा कार्यक्रममा सुशासनको उल्लेख त गरिएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने उपाय अस्पष्ट रहेको बताए ।
सुशासनको अभियानमा रास्वपाले अग्रसरता देखाएको दाबी गर्दै उनले पार्टीमाथि राजनीतिक प्रतिशोध लिइएको आरोप लगाए । “हामी सुशासनको झल्को दिइरहेका छौं, तर त्यही कारणले राजनीतिक आक्रमण भइरहेको छ,” उनले भने ।
अर्यालले २०८४ बाट आफ्नो पार्टी क्रान्तिकारी ढंगले अघि बढ्ने जानकारी दिए । “अब हामी नयाँ ढंगले, नयाँ सोचका साथ अगाडि बढ्छौं,“ उनले भने ।