भारत–पाकिस्तान तनावले सीमा क्षेत्रमा जनजीवन अस्तव्यस्त


काठमाडौं । भारत र पाकिस्तानबीच चुलिँदो तनावको असर प्रत्यक्ष रूपमा सीमा क्षेत्रका बासिन्दामा देखिन थालेको छ ।
नियन्त्रण रेखा (एलओसी) आसपास भइरहेको गोली हानाहानका कारण भारततर्फका स्थानीय बासिन्दाहरू आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित हुन थालेका छन् ।
बिबिसीका अनुसार पछिल्लो समय भारत–पाकिस्तान सम्बन्ध नयाँ स्तरको शत्रुतामा प्रवेश गरेपछि सबैभन्दा ठूलो मार सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले खेपिरहेका छन् ।
पहिले पनि द्वन्द्व र युद्धका बेला सीमाका नागरिकले गम्भीर मानवीय तथा भौतिक क्षति भोग्दै आएका थिए । अहिले पनि उनीहरू कर्फ्यु, बजार बन्द, विद्यालय र स्वास्थ्य सेवा ठप्प हुने जस्ता समस्यामा परेका छन् ।
भारतको पहलगाममा २६ जना पर्यटकको हत्या भएको घटनालाई पाकिस्तानसँग जोडेर भारतले मे ७ को मध्यरातमा पाकिस्तानका विभिन्न ९ स्थानमा लक्षित आक्रमण गरेको थियो । त्यसयता दुवै देशबीच गोलाबारी भइरहेको छ ।
भारत–पाकिस्तानबीच तनावले सीमा क्षेत्रका गाउँहरूमा चरम अस्थिरता छाएको छ । विस्थापितहरू खुला स्थान, विद्यालयको भवन वा अस्थायी शिविरमा बस्न बाध्य छन् । दुवै पक्षबाट भएको आक्रमणले सीमामा बस्ने निर्दोष नागरिकहरूलाई कहिलेसम्म भय, विस्थापन र हिंसाको चपेटामा पारिरहन्छ भन्ने चिन्ता बढ्दो छ ।