वडा कार्यालयको नयाँ भवन निर्माण सुरु
Mayorsap
शनि, बैशाख २७, २०८२ | १४:५७ बजे

तनहुँ । व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । नेपाल टेलिकमसँगै जोडिएको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको हो ।
उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरेका हुन् । व्यास नगरपालिकाको रु एक करोड १८ लाखमा भवन निर्माण गरिने जनाइएको छ । तीन तले उक्त भवनमा वडाध्यक्ष, सचिवको कार्यालय, सभाहल हुने वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।
हालसम्म निमचोकस्थित भाडाको घरमा भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालयको नयाँ भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुने वडाध्यक्ष रानाको विश्वास छ । उनले भने, “साँघुरो कोठाबाट सेवा प्रवाहमा असहज भइरहेको छ । नयाँ भवनबाट सहज रूपमा सेवा प्रवाह गर्न सक्छौँ ।”
भवन शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्रेष्ठले जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले धेरै समयको प्रयासपश्चात् वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्ति भएको बताए ।
व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले सबै वडा कार्यालयको भवन निर्माण गर्ने नीति बमोजिम ३ नम्बर वडाको भवन निर्माण सुरु गरिएको जानकारी दिए । सरकारको मन्त्रिपरिषद् बैठकले उक्त वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरे लगत्तै भवन निर्माण सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको साबिक फराकचौर गाविस वडा नं ९ को सो सरकारी जग्गा व्यास नगरपालिका– ३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिइएको हो ।