Ad Image

सालघारीको फँडानी रोक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746879064.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोक्ने बताएका छन् ।

 

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीको उद्घाटन गर्दै उनले देशको सालघारीलाई प्रकृतिको अनुपम उदाहरण र पानी पार्नका लागि महत्वपूर्ण मान्दै, उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा नलानुपर्ने बताएका छन् ।

 

“हरियो वन नेपालको धन“ भन्ने पुरानो नारालाई सम्मान गर्दै उनले भने, “वनको विनाश हुन नदिएर यसको संरक्षण गरेर सौर्यमण्डलको सार्थकताका लागि कसरी उपयोग गर्न सकिन्छ भन्नेमा हामी लागेका छौँ।”

 

उनले वन क्षेत्रको संरक्षणमा सुधार ल्याउँदै अब उत्पादनतर्फ ध्यान दिने र व्यावसायिक उपयोगका लागि न हतार गर्ने न ढिलो गर्ने नीति अपनाउने योजना राखेको बताए । उनले थपे, “हाल देशको ४६ प्रतिशत भूभाग वनले ओगटेको छ।”

 

प्रधानमन्त्री ओलीले विश्व वातावरणको लागि पनि योगदान गर्नुपर्ने भएकोले अब वन सवलीकरण र बुट्यानलाई सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।