Ad Image

बागलुङ नगरपलिकामा धमाधम सडक स्तरोन्नति र कालोपत्र हुँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746925753.jpg

बागलुङ । बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको हो । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो ।

 

नगरका तीन सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न थालिएको छ । ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको इन्जिनियर मनोज शर्माले जानकारी दिए । उनका अनुसार तीन सडकको एकमुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत रहेको छ । तेस्रो खण्डमा दुई किमीमात्र सडक स्तरोन्नतिको काम बाँकी छ । पहिलो खण्डको सडक कालोपत्र थालिएको छ ।  

 

विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्ड धमाधम स्तरोन्नतिको काम भइरहेको छ । एउटा खण्डमा कालोपत्र सुरु भएको छ । सडक १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।  

 

यस्तै बागलुङ नगरपालिका–७ मुलपानीबाट तितौरेसम्मको ८.६ किलोमिटर सडक तथा वडा नं ४ ओडार चौरबाट ढोडेनीसम्म २.२ किलोमिटर सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बागलुङ–१ रामरेखास्थित गणेशथान घुम्तीबाट नीरयघाटको १.५ किमी सडक कालोपत्र सुरु भएको हो । तीनवटै सडक कालोपत्र गरिए स्थानीयलाई आवतजावतमा सहज हुने छ । 
 

उक्त सडकको गणेशथानबाट निरयघाटसम्मको सडक फुटपाथसहित बनाइएको छ । बागलुङ नगरपालिकाको उक्त सडक हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नपासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । 

 

स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठमा एक वर्षमा सम्पन्न गर्नेगरी रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदान सम्झौता भए पनि गत जेठमा मात्र ठेक्का सम्झौता भएको थियो ।