Ad Image

भोजपुरको सरस्वती आधारभूत विद्यालयमा इ–लर्निङ कक्षा सञ्चालन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746938313.jpg

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इ–लर्निङ कक्षा’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र  आवश्यक उपकरण  जडान गरिएको छ ।

 

पूर्व अर्थमन्त्री सङ्कर प्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौं नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।  सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इ–लर्निङ कक्षा’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ ।

 

किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्षा स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्व अर्थमन्त्री कोइरालाले बताए । उनले यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्ने बताए ।

 

ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री बन्न आवश्यक रहेको र विद्यालयमा संस्थाले इलर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पनि प्रविधिमैत्री र सक्षम हुने बताए । इ–लर्निङ कक्षाको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ ।

 

ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालय स्तरबाट नै यो अनिवार्य भएको बताए । उनले भने, “कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इलर्निङ कक्षा आवश्यक देखिएको छ ।”