संवैधानिक आयोगका ५२ पदाधिकारी विरुद्धको मुद्दा पुनः सुनुवाइ

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज देखी पुनः सुनवाइ सुरु हुदैँछ । विगत चार वर्ष देखी कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दा आजबाट पुनः सुरु हुन लागेको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए, जसको विरुद्धमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।