Ad Image

गल्फागाड–श्रीनगर सडक निर्माण अघि कुनै पनि गतिविधि नगर्न आग्रह

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746964960.jpg

हुम्ला । अदानचुली गाउँपालिका हुम्लाको गल्फागाडदेखि श्रीनगरसम्मको सडक खण्ड (चेनेज ०४००० देखि चेनेज ९९९०) स्तरोन्नतिको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना (PLRIP) अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन इकाई, सुर्खेतको सहकार्यमा ठेक्का प्रक्रिया अघि बढिरहेको गाउँपालिकाले जनाएको छ । निर्माण कार्य छिट्टै सुरु हुने जनाउँदै पालिकाले सडकको क्षेत्राधिकारभित्र कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ, “सडक स्तरोन्नतिका लागि तोकिएको क्षेत्राधिकार (दायाँ–बायाँ) भित्र खेती बाली लगाउने, खाडल खन्ने, कुलो निर्माण गर्ने, पसल वा अस्थायी संरचना निर्माण गर्ने, विद्युत् तथा खानेपानीको पोल वा धारा जडान गर्ने, किला–लट्ठा गाड्ने, प्रवेश मार्ग बनाउने, घर–टहरा वा गोठ निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने जस्ता कुनै पनि कार्य नगर्नुहुन अनुरोध छ।”

 

साथै सूचनामा निर्देशनको अवज्ञा गरी गरिने कुनै पनि कार्यबाट हुने क्षतिको जिम्मेवारी गाउँपालिका तथा आयोजनाले नलिने स्पष्ट गरिएको छ । “कुनै पनि किसिमको क्षतिपूर्ति वा सहयोग प्रदान गर्न सकिँदैन,” सूचनामा भनिएको छ ।

 

उक्त कामबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति पालिकाले क्षमायाचना समेत गरेको छ । सडक स्तरोन्नतिसँगै हुम्लाको यातायात तथा पहुँच सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।