Ad Image

आज बुद्ध जयन्ती, लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम गरी मनाइँदै

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747012012.jpg

काठमाडौं । आज २५६९ औँ बुद्ध जयन्ती मनाइँदै छ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ।  यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

 

विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

 

विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

 

आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।

 

दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए ।

 

लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईका अनुसार, बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा  हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।

 

लुम्बिनीको यो झकिझकाउले यहाँ आउने हरेक आगन्तुकलाई शान्ति र आनन्दको अनुभूति गराएको प्रतिक्रिया दिएका छन् । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।