अमेरिका र चीनबीच व्यापार सम्झौता, छिट्टै संयुक्त वक्तव्य जारी गर्ने


काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म भएको वार्ताबाट सकारात्मक र ठोस प्रगति भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन् ।
यद्यपि दुवै पक्षले के–के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्। चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ।
वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ र वाणिज्य उपमन्त्री चेङगाङ सहभागी थिए।वार्तापछि अमेरिकी अधिकारीहरूले अमेरिकालाई व्यापार घाटा नपर्नेगरी सहमति भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले भने पर्याप्त सहमति भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा चीनलाई ३४ प्रतिशत र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए । उनले चीनलाई लगाएको भन्सार दर बारम्बार बढाएका थिए। पटक पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ।
चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ । यसरी अमेरिका र चीनबीच सारा व्यापार नै रोकिने गरी व्यापार युद्ध सुरू भएको थियो।