Ad Image

कपडा किनिदिने भन्दै युवतीलाई भारत पुर्‍याएर यौन पेसामा लगाउने महिला पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747027381.jpg

पर्सा । नयाँ कपडा किनिदिने बहाना बनाएर भारतको रक्सौल पुर्‍याइएकी एक युवतीलाई जबरजस्ती यौन पेसामा लगाइएको घटनामा संलग्न एक महिला पक्राउ परेकी छन् ।

 

पक्राउ परेकी महिला वीरगन्ज महानगरपालिका–१६, नगवाकी २० वर्षीया अलिया खातुन हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।

 

प्रहरीका अनुसार वैशाख २१ गते खातुनले पीडित युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् । तर, त्यहाँ लगेर जबरजस्ती यौन पेसामा संलग्न गराइएको खुलेको छ । युवतीलाई भारतीय क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

 

खातुनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।

 

प्रहरीले यसअघि पनि खातुनले अन्य बालिकाहरूलाई यस्तै तरिकाले भारत पुर्‍याएर यौन शोषणमा लगाएको भन्ने सूचनाका आधारमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।