Ad Image

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड: जमदार थापा कारागार चलान

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747028733.jpeg

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन् ।

 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो ।


उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकाश प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ । सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वाएरी) प्रक्रिया अघि बढाइएको छ ।


प्रारम्भिक छानबिनमा उनीहरूको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल प्रक्रिया सुरु गरिएको बताइएको छ । सैनिक ऐनले बहालवाला सैनिकमाथि सेनाभित्रै कारबाही गर्ने व्यवस्था गरेकाले उनीहरूलाई सेना मातहत राखिएको हो । तर, कानूनी कारबाहीको दायरामा पर्ने दुई जना अवकाश प्राप्त सैनिकमाथि भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानपछि पूर्व जमदार थापासहित एक अन्य अधिकारीमाथि पनि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । यद्यपि, अर्का अवकाशप्राप्त अधिकारी हाल अमेरिका पुगेको खुलेको छ ।

 

चारै जना सैनिक कल्याणकारी कोषमा कार्यरत रहँदा मिलेमतोमा सवा २ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लागेको छ । नेपाली सेनाले आन्तरिक छानबिनको क्रममा आरोप पुष्टि भएपछि सम्बन्धित निकायहरूलाई थप कारबाहीका लागि जिम्मेवारी तोकेको हो ।