ठूला दलहरू ट्रेड युनियन यथावत् राख्न सहमत, रास्वपा–राप्रपाको फरक मत


काठमाडौं । निजामती सेवामा ट्रेड युनियन राख्ने व्यवस्था यथावत् राख्ने प्रस्तावमा ठूला दलहरू सहमत भएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसमा असहमति जनाएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राप्रपाका सांसद बुद्धिमान तामाङले राजनीतिक नेताभन्दा ब्युरोक्रेसी बलियो देखिएको टिप्पणी गर्दै ट्रेड युनियनको औचित्यमाथि प्रश्न उठाए । रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले उपसमिति सदस्यका रूपमा ट्रेड युनियन नराख्ने मत राखेकी थिइन् ।
विधेयकको दफा १३१ मा ट्रेड युनियनलाई हालझैँ निरन्तरता दिने व्यवस्था गरिएको छ । यद्यपि यसबारे विगतदेखि नै दलगत ट्रेड युनियन आवश्यक छ कि छैन भन्ने बहस चल्दै आएको छ ।
२०६४ सालमा निजामती ऐनको दोस्रो संशोधनपछि ट्रेड युनियन ऐनमै समावेश भएपछि विभिन्न आठ वटा युनियन दर्ता भएका थिए । तर, पछिल्लो विधेयकमा पनि ठूला दलहरू पुरानै अभ्यासलाई निरन्तरता दिन सहमत भएका छन् भने साना दलहरूले असहमति जनाएका छन् ।