बुढीगंगा नगरपालिकाको ४ तले भवन उद्घाटन


बाजुरा । बुढीगंगा नगरपालिकाको ४ तले आधुनिक प्रशासकीय भवन सोमबार पूर्वमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।
१० करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनमा २४ कोठा र लिफ्टसहितको सुविधा छ । नगरप्रमुख रामबहादुर बाँनियाका अनुसार सेवाग्राहीमैत्री बनाउन भवनमा आवश्यक सुविधा समेटिएको छ ।
बुढीगंगा नगरपालिकाले बाजुरामै पहिलो पटक १० वटै वडा कार्यालय, सीप विकास कार्यालय र स्वास्थ्य केन्द्र पनि निर्माण गरेको छ । वडा नम्बर १ र ८ बाहेकका कार्यालय सोमबार र मंगलबार उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख देवराज जोशी, सांसद तथा पूर्वमन्त्री नरेशकुमार शाही, पदमबहादुर शाहीलगायत प्रतिनिधिसभा र संविधानसभा सदस्यहरूको उपस्थिति रहेको थियो ।