‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्दै काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ । यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सम्बन्धित सङ्घसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिसँग छलफल गरिएको महानगरले जनाएको छ ।
मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि नीति निर्माण गरिने महानगर स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिए । अन्य क्षेत्रमा लगानी भए पनि मानसिक स्वास्थ्य क्षेत्र प्राथमिकतामा नभएकाले यसलाई महानगरले नीतिबाटै सम्बोधन गर्न लागेको उनले बताए । “स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा मानसिक समस्याको पहिचान गर्ने, निदान र उपचार गर्ने योजना बनाइएको छ । आउँदो आर्थिक वर्षदेखि वडाहरूमा सेवा प्रवाह थाल्ने छौँ”, महर्जनले भने ।
महानगरका स्वास्थ्य सल्लाहकार डा मणिन्द्र गोर्खालीले विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर हाल देखिएका मानसिक स्वास्थ्य समस्या र आगामी दिनका सम्भावित जोखिम पूर्वानुमान गरेर नीति तर्जुमा गरिने बताए । महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले, शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा काम भइरहेको बताए ।
अब तर्जुमा गरिने मानसिक स्वास्थ्य नीतिमा रुपान्तरित व्यक्ति, परिवार, समाजको अवस्था र व्यवस्था, उमेरजन्य परिस्थितिजस्ता पक्ष समेट्नेगरी नीति तर्जुमा गर्ने तयारी रहेको उनले जानकारी दिए । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको प्रतिवेदनअनुसार हरेक आठ जनामध्ये एक जना व्यक्तिमा मानसिक समस्या हुने गरेको छ ।